January 24, 2007

लाहानमा ८ घण्टे कर्फ्यु, सिराहा बजारमा प्रदर्शन जारी, वार्तामा बस्न आग्रह

Filed under: Uncategorized

सिराहाको लाहानमा स्थिति आज पनि मत्थर हुने नदेखिएपछि स्थानीय प्रशासनले लाहान क्षेत्रमा ८ घण्टे कर्फयु आदेश जारी गरेको छ ।

स्थानीय प्रशासनले आज विहान १० बजेदेखि साँझ ६ बजेसम्म लाहान क्षेत्रमा कर्फयु आदेश जारी गरेको हो । सिराहाका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठले क्रमसँगै खुकुलो गर्दै लाने जानकारी दिनुभयो । यसअघि विहान ४ बजे कर्फयु समाप्त भएपछि लाहानमा मानिसहरुको चहलपहल बढेको थियो । बजारका अधिकांश पसल बन्द भए पनि खुलेका केही पसलमा खाद्य सामग्री किन्नेहरुको घुँइचो लागेको थियो । जनजीवन सामान्यतर्फ उन्मुख रहेको छ ।

त्यस्तै लाहान घटनाको विरोधमा फोरमका युवाहरुले आज सुनसरीको इनरुवा बजार बन्द गराएका छन् । बजारका पसलहरु बन्द छन् भने राजमार्गका विभिन्न भागमा रुख ढालेर अवरोध सिर्जना गरिएकाले यातायात बन्द रहेको छ । फोरमकै आव्हानमा आज पनि बारा बन्द रहेको छ । सदरमुकाम बजार बन्द प्रायः छ, भने यातायातका साधनहरु कम गुडेका छन् ।

यसैबीच कर्फयुको बेला एम्बुलेन्स नपाउँदा समयमा उपचार नपाएर सिराहामा एक महिलाको आज विहान मृत्यु भएको छ । पाठेघरको नली फुटी बिरामी परेकी गोविन्दपुर-८ की २४ वर्षिया सुनिता महतोेको उपचारको क्रममा लाहान अस्पतालमा विहान ५ बजे मृत्यु भएको हो । अस्पतालका चिकित्सक पशुपति चौधरीले समयमै अस्पताल नल्याएका कारण बिरामीको ज्यान गएको जानकारी दिनुभयो । एम्बुलेन्स नपाएपछि विहान ४ बजे कर्फयु खुल्ने बित्तिकै महतोलाई मोटरसाइकलमा राखी अस्पतालमा पुर्‍याइएको थियो ।

त्यसैगरी लाहान घटनापछि तनाग्रस्त बनेको सिराहा बजारमा आज विहानदेखि प्रदर्शन सुरुभएको छ । कर्फयुका कारण हिजो शान्त देखिएको सिराहा बजारमा आज विहानबाट प्रदर्शनकारीहरुले दर्जनौं ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले हिजो कर्फयुको समयमा प्रहरीले सर्वसाधरणको घरमा पसी कुटपिट गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।

यसैबीच कर्फयुको अवज्ञा गर्दै प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएका दुवै जनालाई हिजो साँझ रिहा गरिसकेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । कर्फयु अवज्ञा गर्दै प्रदर्शन गर्ने र लखेट्ने क्रममा प्रहरीले प्रमोद कर्ण र पान पसले सोनुलाई पक्राउ गरेका थिए । प्रदर्शनकारीलाई खोज्ने क्रममा प्रहरीले आधा दर्जनलाई कुटपिट गरी घाइते बनाएको थियो ।

यसैबीच सिराहा र सप्तरीको विभिन्न संघ/संस्थाले मधेशी जनअधिकार फोरमलाई सरकारसँग वार्ता गर्न आग्रह गरेका छन् । सरकारले वार्ताको आव्हान गरेकाले वार्ताबाटै समस्याको निकास खोज्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । सिराहास्थित मानवअधिकार संगठन, नेपाल शिक्षक संघ, व्यापार समिति, पेसागत संगठनहरुको सञ्जाल लगायतका अधिकारीहरुले फोरमलाई यथाशिघ्र सरकारसँग वार्ता गर्न आग्रह गरेका हुन् । आन्दोलन मात्रै समस्याको समाधान नभएको तर्क गर्दै उनीहरु नागरिकता वितरण, मतदाता नामावली संकलन लगायत आम सर्वसाधरणको जनजीवनमा प्रतिकुल असर पारेकाले आन्दोलन स्थगित गरी वार्ताबाटै निकास खोज्न आग्रह गरेका छन् ।

फोरम सरकारसँग वार्ता गर्न तयार

Filed under: Uncategorized

काठमाडौं- मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग वार्ता गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । उहाँले वार्ताबाट समस्याको समाधान गर्न आफ्नो सङ्गठन तयार रहे पनि वार्ताअघि गृहमन्त्री कृष्णप्रसाद सिटौलाले राजीनामा दिनुपर्ने शर्त अगाडि सार्नुभयो ।
‘वार्ता सफल बनाउन गृहमन्त्रीले राजीनामा दिनैपर्छ’- उहाँले भन्नुभयो- ‘राजीनामा नदिएसम्म वार्ता हुनै सक्दैन भन्ने चाहिँ होइन ।’ सरकारले आफूहरूलाई वार्तामा बोलाए पनि वार्ताका लागि औपचारिक पत्र भने अहिलेसम्म नपठाएको जानकारीसमेत यादवले दिनुभयो ।
अन्तरिम संविधानप्रति असन्तुष्टि जनाएर आन्दोलन गरिरहेका मधेशी जनअधिकार फोरम, तराईमा सशस्त्र द्वन्द्व जारी राखेको तराई जनतान्त्रिक मुक्ति मोर्चा लगायतका सङ्गठनलाई सरकारले मङ्गलबार औपचारिकरूपमा वार्तामा बोलाएको थियो । मन्त्रिपरिषद्को विशेष बैठकले यी पक्षलाई औपचारिक रुपमै वार्तामा बोलाउने निर्णय गरेको हो ।
अध्यक्ष यादवले सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गर्दै मधेशीहरूको मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।
फोरमले तराईलाई स्वायत्त राज्य घोषणा गर्नुपर्ने, मधेशीलाई राज्यसत्तामा समानरूपले सहभागी गराउनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको छ । स्वससे

January 7, 2007

अनेसास यूएई च्याप्टरद्वारा देउराली पाक्षिक खबर पत्रिका प्रकाशन

Filed under: Uncategorized

 

जनवरी , २००७ मा नेपाली समाज क्षेत्रीय समिति मुसाफाहाले आयोजना गरेको फुटबल कार्यक्रममा प्रमुख अतिथि यूएईका लागि कार्यबाहक राजदूत मोहनकृष्ण श्रेष्ठले देउराली खबर पत्रिकाको पहिलो नमूना अंक विमोचन गर्नुभयो

अनेसास यूएई च्याप्टरका सभापति बालचन्द्र पोख्रेल प्रधान सम्पादक रहनु भएको उक्त पत्रिका यूएईबाट पहिलो पटक पाक्षिक रुपमा प्रकाशन हुन थालेको हो यूएई.मा छरिएर रहेका नेपालीहरु जोसँग इन्टरनेट इमेलको राम्रो सुविधा छैन त्यहाँ देउराली पाक्षिक खबर पत्रिका पु-याउने इमेल इन्टरनेटबाट विश्वका अन्य नेपालीहरुलाई यूएईमा भएका  अन्य देशका समचारहरुसहित उपलब्ध गराउने उद्देश्यले प्रकाशन भएको देउराली निकट भविश्यमानै वेभ साइटबाट पनि प्रकाशनमा ल्याउने जानकारी प्रधानसम्पादक पोखरेलले दिनु भएको थियो

साथै प्रधानसम्पादक पोखरेलले प्रवासमा हुने गरेका गतिविधि घटनाहरु, कथा कविता, प्रवासी जीवनको अविस्मरणिय क्षण, आदि उपलब्ध गराइदिन नमूना अंक पढिसकेपछि प्रतिक्रिया दिनका लागि पनि अनुरोध गर्नु भएको थियो उपस्थित सम्पूर्ण नेपालीहरुले बडो चाखका साथ पत्रिका लिनुभएको थियो पत्रिका पढिसकेपछि प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो

अन्ततः नेपाली समाज यूएई एकीकृत

Filed under: Uncategorized

 यूएईमा रहेका नेपालीहरुको पूरानो संस्था नेपाली समाज यूएईमा विगत लामो समयदेखि रहेका विवादहरु छलफल बहसमार्फत समाधान गर्दै अन्ततः एकीकृत भएको छ। यूएईका लागि कार्यबाहक राजदूत मोहनकृष्ण श्रेष्ठको विषेश पहल विभाजित दुबै समूहबीच लामो छलफलपछि नेपाली समाज यूएई नयाँ वर्ष २००७ सालको सुरुवातसँगै रामेश्वर साहको अध्यक्षतामा १९ सदस्यस्य केन्द्रीय समिति चयन भएको

नयाँ कार्यसमितिमा मधु आले प्रथम उपाध्यक्ष, राजेन्द्र देवकोटा द्वितीय उपाध्यक्ष, यमलाल शर्मा पंगेनी महासचिव, शंकर ज्ञावाली सचिव, रविन्द्र पौडेल कोषाध्यक्ष, दीपक आचार्य सहकोषाध्यक्ष, कृष्ण न्यौपाने संवाद सचिव, चन्द्र चेम्जोङ सहसम्वाद सचिव तथा सदस्यमा प्रज्वल श्रेष्ठ, लक्ष्मण सापकोटा, दामोदर नेपाल, जनकराज शर्मा, ललितमान राना, तर्कबहादुर कटुवाल, तुलसी तामाङ, होम रानाभाट, प्रवीणराज घिमिरे सुनिल पंगेनी रहनुभएको

नयाँ वर्ष तथा बकरिद इदको पावन अवसरमा मुसाफाह क्षेत्रीय समितिले आयोजना गरेको फुटवल कार्यक्रमको फाइनलको दिनमा कार्यबाहक राजदूत मोहनकृष्ण श्रेष्ठले नेपाली समाज यूएई एकीकरण भएको जुन २००५ मा स्थापना भएको केन्द्रीय तदर्थ समिति आजैको दिनबाट भङ्ग भएको घोषणा गर्नु हुँदै नयाँ साल २००७ को आफ्नो ब्यक्तिगत तथा दुतावासको तर्फबाट शुभकामना ब्यक्त गर्नु भएको थियो

उक्त कार्यक्रममा आफ्नो मन्तब्यमा नवनियुक्त अध्यक्ष रामेश्वर साहले भन्नुभयो- हामीले सम्पूर्ण यूएईबासी नेपालीको हितलाई ध्यानमा राखेर एकापसका मनमुटावलाई हटाई एकता गरेका छौं यसमा प्रमुख भूमिका निभाउनु हुने कार्यबाहक राजदूत श्रेष्ठ तथा दूतावास परिवारलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु  उहाँलै सम्पूर्ण प्रवासी नेपालीहरुको साथ पाएमा नेपाली समाज केन्द्रीय समिति यूएई नयाँ जोस जाँगरका साथ अगाडि बढ्न सक्ने भन्दै सम्पूर्ण प्रवासी नेपालीहरुलाई नेपाली समाज केन्द्रीय समितिको छातामूनी रहन अनुरोध गर्नु भएको थियो

 

 

 

 

यूएइव्यापी खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

Filed under: Uncategorized

 

यू..  जनवरी,

 

नयाँ वर्ष सन् २००७ तथा मुस्लिम समुदायको पर्व बकरीदको पावन अवसरमा नेपाली समाज मुसाफाह क्षेत्रीय समितिको आयोजनामा डिसेम्बर ३०, २००६ देखि जनवरी २००७ सम्म तीन दिन यूएईको मुसाफाह क्षेत्र बडा मस्जिद नजिकैको फुटबल मैदानमा यूएईव्यापी खुला फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

नेपाली समाज केन्द्रीय समितिका निवर्तमान उपाध्यक्ष भुवन राईले खेलको उद्घाटन गर्नु भएको थियो साथमा, मुसाफाह क्षेत्रीय समितिका अध्यक्ष तथा खेलकुद संयोजक अर्जुन शाह, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रकाश श्रेष्ठ, नेपाली समाज केन्द्रीय समितिका निवर्तमान सम्वाद सचिव दामोदर नेपाल उपस्थित हुनुहुन्थ्यो यूएईका विभिन्न क्षेत्रबाट खेलाडीहरु तथा दर्शकहरुको खचाखच उक्त खेलमा २४ टिमले भाग लिएका थिए खेलाडीहरुको खेल्ने चाहना हुँदाहुँदै पनि समय अभावले ९० मिनेटको खेललाई अन्त्यमा ४० मिनेटको समयमा खेलाइएको थियो तीन दिनसम्म सञ्चालित  फुटबल प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले पनि भाग लिएकोमा पेनाल्टी किकमा बाहिरिएको थियो

कार्यक्रमको अन्तिम दिन जनवरी , २००७ मा प्रमुख अतिथि यूएईका लागि कार्यवाहक राजदूत मोहनकृष्ण श्रेष्ठ साथै राजदुतावासका अन्य कर्मचारीहरुले खेलको नजर गर्नु भएको थियो उक्त कार्यक्रममा यूएईमा कार्यरत विभिन्न विशिष्ठि व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो अन्तिम दिनको कार्यक्रमको सभापतित्व नेपाली समाज मुसाफाह क्षेत्रीय समितिका अध्यक्ष तथा खेलकुद संयोजक अर्जुन शाहले गर्नु भएको थियो भने अबुधावी क्षेत्रीय समितिका सभापति लक्ष्मण सापकोटाले उपस्थित सम्पूर्ण दर्शक तथा खेलाडीहरुलाई स्वागत गर्नु भएको थियो कार्यक्रम सञ्चालन मुसाफाह क्षेत्रीय समितिका सचिव गिरीधारी रिजालले गर्नुभएको थियो

२४ टिम मध्ये पूर्वाञ्चल टिम बीले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने अल साबा टिमले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो आयोजकको मूल्याङ्कनमा गल्फ ड्यून्सका गोपाल थापा सर्वोकृष्ट खेलाडी चुनिएका थिए भने उहि टिमका खेलाडी शिरिष मगर सबैभन्दा बढी गोल गर्ने खेलाडी चुनिएका थिए उनले प्रतियोगिताभरि गोल गरेका थिए दुवै खेलाडीलाई नेपाली समाज केन्द्रीय समितिका निवर्तमान अध्यक्ष सर्वेन्द्र वाग्लेले कप प्रमाण पत्र प्रदान गर्नु भएको थियो

प्रमुख अतिथि कार्यबाहक राजदूत मोहनकृष्ण श्रेष्ठले प्रथम हुने टिमलाई पुरस्कारस्वरुप कप, खसी प्रमाण पत्र प्रदान गर्नुभएको थियो भने दोस्रो हुने टिमलाई नेपाली समाजका वर्तमान सभापति रामेश्वर शाहबाट पुरस्कार प्रदान गरिएको थियो कार्यक्रमको अन्त्यमा प्रतियोगितामा सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो खेलको प्रायोजनमा नेपाल ईन्भेष्टमेन्ट बैक यूएई एक्सचेन्जले सहयोग गरेको थियो

December 27, 2006

यस बर्षको प्रभात पुरस्कार शशी लुमुम्बूलाई प्रदान

Filed under: Uncategorized
 
 
 

प्रवासमा बस्ने नेपालीहरुको संस्था मध्ये एक सशक्त संस्था प्रवासी नेपाली साहित्य समाज बेलायतले प्रत्येक वर्ष प्रदान गर्ने प्रभात साहित्य पुरस्कार यस वर्ष भोजपुर याकूमा ३ दशक अघि जन्मिएर सुनौलो आवाज र बुडो पहाड कृति लेख्नु भएका युवा साहित्यकार शशी लुमुम्बूलाई प्रदान गरिने भएको छ।

गत २६ डिसेम्बर २००६ का दिन बेलायत सर्नकिल्फमा साहित्य समाजको बसेको भेलाले उक्त निर्णय गरेको हो । साहित्य सिर्जना र संगीतको निम्ति उर्वरभूमि बन्दै गएको लाहूरघरमा सन् २००१ मा स्थापित यस संस्थाले प्रत्यक वर्ष एकजनालाई साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।  सो पुरस्कार गत वर्ष धरानकी संचारकर्मी एवं साहित्यकार श्रीमति सुसनवाला राईलाई प्रदान गरिएको थियो भने उक्त पुरस्कारको राशी यस बर्ष रु १२ हजार २ रुपैयाँ रहेको छ । देशविदेशमा रहनु भएका धेरै साहित्यकारहरुको नाम प्रस्तावमा आएका कारण मतदान प्रक्रियाबाट लुमुम्बू छनौट हुनु भएको हो । त्यस्तैगरी साहित्य समाजले नेपाली पपगीतका पहिलो स्रष्टा नोरदेन तेन्जिङ भोटियालाई सम्मान गर्ने निर्णय गरेको छ ।

नेपाली संस्कार, संस्कृति र संचार विश्वभर पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण लण्डनबाट  प्रसारण हुने नेपाली टीभीलाई, बेलायतमा बसेर बेलायत तथा नेपालका लागि खेलकूद क्षेत्रमा विशिष्ट योगदान दिनु हुने राष्ट्र राईलाई, प्रवासी नेपाली साहित्य, संगीत र संचारको क्षेत्रमा राम्रो योगदान पुर्‍याएबापत बृटिश फोर्सेस ब्रोडकास्टिङ (बीएफबीएस) गोरखा रेडियो बेलायतलाई र यूरोपको नेपालीपत्र साप्ताहिकका प्रधान सम्पादक तथा लाहूरघरबाटै डाक्टर उपाधि हासिल गर्नुहुने डा. चन्द्र लक्सम्वालाई कदरपत्र प्रदान गरिने भएको छ । उक्त पुरस्कार, सम्मान र कदरपत्र नेपाली नयाँ वर्षको अवसरमा प्रदान गरिने भएको छ ।

मेची राजमार्गको यातायात सुचारु

Filed under: Uncategorized
मेची राजमार्गको यातायात सुचारु

बस व्यवसायीबीचको विवादले ३ देखि अवरुद्ध मेची राजमार्ग आजबाट सुचारु भएको छ ।

३ वटा बसलाई पाँचथर सदरमुकाम फिदिमबाट राजधानीसम्म चल्नका लागि समन्वयविना अनुमति दिएको भन्दै पूर्वका ४ वटा यातायात व्यवसायीले यातायात बन्द गराएका थिए । व्यवसायीको लगातार विरोधका कारण सो रुट दिएको अनुमति तत्काललाई खारेज गर्ने सहमति भएपछि व्यवसायीले अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम हिजो बेलुकी फिर्ता लिएका थिए ।

नेपालगञ्जमा शान्ति सद्भावना र्‍याली निस्कन सकेन, कर्फ्यु जारी

Filed under: Uncategorized
 
 

नेपालगंजमा आज विहान पुनः दंगा भड्किने सम्भावना देखिएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु लगाएको छ ।

८ दलले विहान सद्भावना र्‍याली निकाल्ने तयारी गरेपनि उत्तेजित भिडले ८ दलको बैठक बिथोल्ने प्रयास गरेपछि बाँके प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो विहान बसेको ८ दलको बैठकले हिजो दुई समुहबीच भएको झडपमा ज्यान गुमाएका कमल गिरीको परिवारलाई तत्काल १० हजार क्रिया खर्च दिने निर्णय गरेको छ । बैठकले अगजनी लुटपाट र तोडफोडमा भएका क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । विहान उद्योग वाणिज्य संघमा बसेको भेलाले शान्ति कायम राख्न र सद्भावमा खलल उत्पन्न नगर्न आग्रह गरेको छ ।

नेपालगंजबासीमा संयम अपनाउन आग्रह गर्दै बैठकले शान्ति स्थापना गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ । यसैबीच आज मध्यान्ह ८ दल, नागरिक समाज, सुरक्षा अधिकारी एवं सबै जात र समुदायका प्रतिनिधिबीच भएको छलफलमा तत्काल समिति गठन गरी क्षतिको अध्ययन गर्ने सहमति भएको छ ।

त्यसैगरी बाँकेको कोहलपुरमा र नेपालगंज सीमा भन्सार वरपरका क्षेत्रमा रहेका स-साना पसलहरुमा समेत अराजक समुहले आज विहान लुटपाट मच्चाएको छ ।

यसैबीच सद्भावना आनन्दी देवीले आज एक विज्ञप्ति जारी गरी नेपालगंजमा भएको धनजनको क्षतिको अध्ययन गरी तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र अबिलम्ब उच्चस्तरिय न्यायिक छानविन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय उपाध्यक्ष भरत विमल यादवद्वारा जारी विज्ञप्तिमा सामाजिक सद्भाव कायम गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । पार्टीले हिजो नेपालगंजमा भड्किएको दंगा नियन्त्रण गर्न प्रहरी प्रशासन असफल रहेको भन्दै जिल्लाका सुरक्षा अधिकारीहरुको निलम्बनको माग गरेको छ । त्यसैगरी कमल गिरीमाथि गोली प्रहार गर्ने प्रहरी अधिकृतलाई आजै निलम्बन गरिएको थाहा भएको छ ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft